काठमाडौं । नेपालका १६ औं राष्ट्रिय बिभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औ जन्मजयन्ती आज देशैभर बिभिन्न् कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ ।
जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ ।
बिसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिनुभएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन् । उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ।
सानो उमेरमा धेरै विरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जिवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उहाँलाई हातमा लगाईदिएकाले गाँउमा बोलाउने नाम फलामसिंह परेको जानकारहरूको भनाइ छ।
महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बीहरूले भगवानको रुपमा पुजाआजा गर्ने गरेको पाइन्छ ।
लिम्बू समुदायले फक्ताङलुङ भन्ने गरेको ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमशृङ्खला किराँतीको मोक्षस्थल रहेको परिभाषित एवं प्रचारित गरेर उहाँले मोक्षप्राप्तिको मार्गसमेत देखाउनुभएको थियो। किराँतीको मौलिक धर्म र संस्कृतिको प्रचार गर्दै नेपालका विभिन्न जिल्लासहित भारत, तत्कालीन सिक्किम र भुटानमा समेत पगेपछि राणा शासकले उहाँलाई देशद्रोहीको मुद्दा समेत लगाएका थिए । फाल्गुनन्दको विसं २००५ मा हाल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने इम्वुङको हाङयक भन्ने स्थानमा देहवसान भएको थियो । उनको समाधिस्थल फाल्गुनन्द र फिदिमको सिमानामा पर्ने सिलौटीमा रहेको छ ।




















