काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सीमित नेताहरुको चक्रव्यूहमा देश फसेको बताएका छन् । सिन्धुलीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष लिङदेनले सीमित नेताहरुले देशलाई बन्धक गरेर राखेको बताएका छन् । उनले देश पुरै बेरोजगार उत्पादन गर्ने कारखाना बनेको भन्दै २६ वर्ष कांग्रेसले देश चलाउँदा देशले के पायो ? भन्ने प्रश्न गरेका छन् ।
देशको भविष्य कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्ने उच्चतम समय चुनाव भएको बताउँदै उनले एउटा भोट गलत पार्टीलाई पर्यो भने पुरै देशले दुःख पाउने भन्दै सही उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।
‘चुनावमा राप्रपा उठेको होइन तपाईंहरु उठेको हो । तपाईका यिनै नेताहरुलाई कति चोटी भोट दिँदा देश भन्छ भन्नुस् त ।’ भन्दै लिङदेनले शेरबहादुर देउवालाई छैठौं चोटी प्रधानमन्त्री बनाउँदा देश बन्छ ? भन्ने प्रश्न गरेका छन् ।
‘भोट दिने भन्ने कुरा छोरी दिने कुराभन्दा ठुलो कुरा हो। तपाईंले छोरी दिनेकुरा हजारचोटी सोच्नुहुन्छ। केटाको बारेमा अनेक लगाएर खोज्नुहुन्छ। सोचेर बुझेर दिएको छोरीपनि कहिलेकाहिँ लफङ्गाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुख पाउछ। तर, तपाईंले दिएको एउटा गलत पार्टी र नेतालाई परेमा पुरै देश र जनताले दुख पाउँछन्।’ भन्दै उनले देशको भविष्य उज्वल बनाउन राप्रपालाई मत दिनुपर्नेमा जोड दिएका छन् ।