विराटनग । मोरङ क्षेत्र नम्बर ६(२) का उम्मेदवार पर्शुराम बस्नेतले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने मोडल बन्ने महत्वकाक्षा सहित निर्वाचनमा होमिएका बस्नेतले विराटनगरबाट प्रतिनिधित्व गर्दै ३ जना प्रधानमन्त्री भए पनि हुनुपर्ने जति विकास नभएको बताउँदै आफू जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ र मोरङको विकास यसरी पो गर्नु पर्ने रहेछ भन्ने मोडल बन्ने दावी गरेका छन् ।
‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबैभन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र, धार्मिक र सांस्कृतिक केन्द्र र अहिले प्रदेशको राजधानी रहे पनि जुन हिसाबले विकास हुनुपर्ने त्यो हुन सकेको भन्दै बस्नेतले विराटनगरको विकास अब आफू जस्तो युवाहरुले गर्ने बताएका छन् ।
उनले भनेका छन् ‘युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक होइन, सेवक भएर देखाउने छु ।’
बस्नेतले आफूले पनि हरेक वर्ष बाढीको समस्या झेल्दै आएको बताउँदै नगरवासीहरूलाई डुवानको पीडाबाट मुक्त गर्ने बताएका छन् । बाढी, बेरोजगारी लगायतका मुख्य समस्या समाधानका लागि आफू जनप्रतिनिधि भएपछि गुरुयोजना बनाएर काम गर्ने बताएका छन् ।
उनी प्रतिस्पर्धामा रहेको क्षेत्रमा गठबन्धनका तर्फबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की नेपाली कांग्रेसबाट उम्मेदवार छन् । कांग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र बीपी कांग्रेसका जनार्दन निरौलाले पनि उम्मेदवारी दिएका छन् । यसले गर्दा पनि बस्नेतले जित्ने सम्भावना प्रवल देखिएको छ ।
मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली कांग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।

























