विराटनगर । आगामी निर्वाचन विथोल्न मुलुकभर विभिन्न २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले बताएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा शनिबार आयोजित निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्रालयले साना तथा ठूला २३ वटा समूहले चुनावलाई असर पुग्ने गतिविधि गरिरहेको जानकारी दिएको हो ।
गृह प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचन विरोधी समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न तथा निष्तेज पार्न र निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण, भयरहित, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको बताए ।
उनले भने- ‘निर्वाचन सम्पन्न गराउन सबै तयारी पूरा भइसकेको छ। तर बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ वटा समूह सक्रिय छन् ।
उनले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन्। कुनै समूह अलि धेरै संख्याको पनि छ ।’ सुरक्षाका दृष्टिकोणले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको उनको भनाइ छ ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्रीसमेतको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको पोखरेल बताउँछन्।
उनका अनुसार मतदातामा त्रास उत्पन्न नहुने हिसाबले सुरक्षा व्यवस्था मिलाइएको छ । साथै समयमा हतियार नबुझाउनेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशनसमेत दिएको छ। मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ। निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी मन्त्रालयले दिएको छ ।
गृह प्रवक्ता पोखरेलले निर्वाचनका लागि राज्यका सबै स्रोत साधनको प्रयोग गरिएको जानकारी दिए । अहिले मतपत्रसहितका निर्वाचन सामग्री ढुवानीको काम भइरहेको उनको भनाइ छ । निर्वाचनका बेला कुनै पनि समस्या आउन नदिन आचारसंहिताको पालना र राजनैतिक दलसँगको समन्वयलाई जिल्ला सुरक्षा समितिले ध्यान दिनुपर्ने पोखरेलले बताए। एकै चरणमा निर्वाचन सम्पन्न गराउँदा ठूलो मात्रामा सुरक्षा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले व्यक्तिगत सुरक्षा सम्भव नहुने उनको भनाइ छ ।

























