काठमाडौं । जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलाका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरेको हो ।
जिल्लाको बेलाका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिएका छन् ।
बेलाका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राही सहित निर्वाचन आयोगले यस पटक प्रदान गरेको सुबिधा अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधी सभा तर्फको समानुपातीक तर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
नमुना मतदान कार्यक्रम अन्तर्गत बेलाका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो ।
नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक पटक मतदान गर्नु पर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदान बाट धेरै कुरा सिकेको र उक्त कुरा गाउ गाउमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिकृया दिएका छन् ।
बुधवारबाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ । बुधवार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुशीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नु पर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिए ।
नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ । यो निर्वाचनमा जिल्लाका सबै ८ वटै पालिकामा नमुना मतदान हुँदै छ । जिल्लामा कुल दुई लाख २८ हजार ९ सय ४६ मतदाता छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १ मतदान स्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुर जनाएको छ ।























