काठमाडौँ । आज छठको मुख्य दिन । नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाएका छन् ।
निर्जल तथा निराहार ब्रत बसेका ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा पूरा गरिदिन आग्रह गरे ।
ब्रत नबसेका घरका सदस्यले दिउँसै दौरामा छठी माता, शिरसोप्ताको पूजा र सूर्यलाई अर्घ्य दिने सामग्री छठघाटमा पुर्याउने गर्दछन् । फर्कने बेलामा पनि उनीहरुले नै बोकेर ल्याइदिने चलन रहेको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुने जनविश्वास पनि रहेको छ ।
भोलि सोमबार सप्तमीका दिन बिहान सबेरै उठेर ब्रतालुले नजिकको नदी तथा तलाउमा गएर नुहाउँछन् । पुनः घरका पुरुष सदस्यको सहयोगमा दौरा लिएर घाटमा पुगी शिरशोप्तामा पूजा गर्छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत्रुपमा समापन हुन्छ ।
देशभर फैलदै छठ
तराई मधेशमा मात्र मनाइने छठ पर्व पछिल्लो समय देशभर फैलँदै गएको छ । भोजपुरी भाषा सँस्कृतिमा विद्यावारिधि गरेका प्राध्यापक डा. विश्वम्भर शर्मा छठ पर्व पहाडी र मुस्लिम समुदायले पनि मनाउन थालेको बताउँछन् । हेटौंडा, पोखरा, काठमाडौंलगायतका शहरमा समेत छठ पर्व मनाउने सँस्कृतिको विकास हुनु सुखद भएको उनको भनाइ छ । भोजपुरी सँस्कृतिविद उमाशंकर द्विवेदीले छठ पर्व एकताको राम्रो उदाहरण बन्दै गएको बताए ।




















