काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले श्रीलंकामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो ।
सिड्नीमा न्युजिल्यान्डले दिएको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०२ रन बनायो ।
श्रीलंकाका लागि कप्तान दशुन शनकाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै भानुका राजापाक्षेले ३४ रनको योगदान दिँदा त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । त्यस्तै मिचेल स्टेनर र इस सोधीले दुई–दुई विकेट लिँदा टिम साउथी र लकी फग्युसनले समान एक–एक विकेटको योगदान दिए ।
यसअघि ग्लेन फिलिप्सको शतकीय पारीको सहयोगमा न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि फिलिप्सले १०४ रनको शतकीय पारी खेले । ६४ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै डेरी मिचेलले २२ रन बनाउँदा मिचेल स्टेनरले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका लागि कासुन राजिथाले दुई विकेट लिए ।
त्यस्तै महेश थेक्सान, धनन्जय डी शिल्भा, वानिन्दु हर्शरंगा र लाहिरु कुमारले एक–एक विकेट लिए । आजको जितसँगै न्युजिल्यान्डले ३ खेलबाट ५ अंक जोडेर समूह १ को शीर्ष स्थानमा छ ।