काठमाडौं । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजाअर्चना गर्ने गरिन्छ ।
यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।
आजको दिनमा राति माता लक्ष्मी पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ । त्यसैकारणले आज घरअगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रही आएको छ । घरआँगन सबैतिर आज साँझ दीप बाल्ने चलन छ ।
यस्तै, आज कुकुर तिहार पनि परेको छ । यसै दिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा परेको छ । यस दिन सूर्यग्रहण पनि परेको छ । कात्तिक ९ गते बुधबार गोबर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वतको नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।
कात्तिक १० गते बिहीबार साइत खोज्नेले बिहान ११: ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यस दिन दिनभर टीका लगाउनु शुभ रहेको उल्लेख गरिएको छ ।
सुखरात्रि
आजको दिनलाई सुखरात्रि पनि भनिन्छ, लक्ष्मीपूजालाई सुखरात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिनमध्ये एक हो ।
लक्ष्मी जयन्ती
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदै छ ।
नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उनका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि. सं २०१६ सालमा उनी यो संसारबाट बिदा भएका थिए । सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा उनलाई स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक पनि मानिन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन रहेका छन् ।



















