काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान पाँचवटा शर्तसहित आइतबारदेखि खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनिश्चितकालिन रोक लगाएको थियो ।
प्राधिकरणले उडान सुचारु गर्नका लागि विभिन्न पाँचबुदे सर्त राखेकोमा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ती शर्त मान्न तयार भएपछि प्रतिबन्ध खुलेको संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा अघिल्लो आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका थिए । सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भूँइमा बजारिन पुगी ज्यान गएको थिए । उनको निधनलगत्तै प्राधिकरणले देशैभरको प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो ।
प्राधिकरणले उडान सुचारु गर्नका लागि विभिन्न पाँचवटा शर्त राखेको छ । ती शर्तमा प्राधिकरणले व्यवसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यावसायिक उडानबाहेक अन्य खालका उडान गर्न नपाइने भएको छ ।
त्यस्तै १५ दिनभित्र सबै पाइलटको स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य परीक्षणमा सफल भएमा मात्र उड्न दिइनेछ । व्यावसायिक उडानमा संलग्न पाइलटले प्राधिकरणको स्वीकृतिमा सबै किसिमको पोशाक लगाउनुपर्ने र पोशाकमा पाइलट र कम्पनीको नाम लेखिनुपर्ने शर्त छ।
पाइलटले उडान गर्ने ग्लाइडरको १५ दिनभित्र प्राधिकरणका प्राविधिकबाट परीक्षण गराई योग्य पाइलटलाई मात्र उडान अनुमति दिइने पनि प्राधिकरणको सर्त छ। त्यस्तै पाइलटलाई पुनर्ताजगी तालिक दिनुपर्ने र आपतकालिन अवस्थामा टेण्डम उद्धार उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक दिने उल्लेख छ ।