काठमाडौँ । कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको वाणगङ्गा नगरपालिका–३ सिउटीमा तीव्र गतिमा गुडिरहेको ना१ग ५५४ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।
४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी, सशस्त्र प्रहरी जनक चौधरी, साइकलयात्री अमर तङनामी र अर्का एक जनाको मृत्यु भएको हो । ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरूको बुटवलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ट्रकमा सवार थप दुई जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी र प्रेम मल्ल घाइते भएका छन्। उनीहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। सशस्त्र प्रहरीकै लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले सशस्त्र प्रहरीमाथि छानबिन गरिनुपर्ने बताएका छन्। दुर्घटनामा परेको ट्रकमा मदिरा भेटिएको भन्दै स्थानीयले आन्दोलन गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।