काठमाडौं । ‘खान र लगाउन सोख नभएपछि दुःख नपाइने रहेछ । नयाँ लुगा नभए पनि हुने, तर चिटिक्क र सफा चाहिँ हुनै पर्ने’, वर्षौँसम्मको ‘मास्टरी’ प्रवचन जारी छ, ‘सबैले जित्ने नै होइन एक जनाले जित्ने हो । जितेन भने पनि के हुन्छ र ? किसानको छोरा हुँ । खेतबारी छ, घर छ । त्यो जाने होइन ।’
कुरा सुरु हुनुअघि नै उनी यति बोलिसके । तपाईँले सायद चिन्नुहुन्न पनि । राष्ट्रिय राजनीतिमा नाम भेटिन्न उनको । आसन्न निर्वाचनमा टिकट नपाउनेको रोइलो जारी हुँदा ठूलो संघर्ष पनि यिनले गर्न परेन । चुनावी सन्दर्भमा कुरा थाल्नुअघि नै धाराप्रवाह प्रवचन दिने यिनी हुन् मणिराम फुयाल । फुयाल काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार ।
अब कुराकानी सुरु गरौँ कि ?
उनको प्रवचनलाई ब्रेक लगाउन प्रश्नै गर्न प¥यो । सुनेपछि सचेत भए मणिराम । थलीमा रहेको पार्टी क्षेत्रीय कार्यालयमै थिए फुयाल ।
शिक्षणसँगै राजनीति
कुराकानीका लागि तयार भएपछि फुयाल बिस्तारै खुल्छन् । प्रश्न गर्दा फ्याटै बोलिहाल्ने बानी रहेनछ उनको । आफ्नो स्वभाव त सुनाइसके सुरुमै, कुराकानी गर्न ‘सजिलो’ होस् भनेर ।
‘राजनीति पेशा होइन । पेशा त म छोडेर आएको । राजनीति अहिले पेशाजस्तो भयो’, राजनीतिप्रति आम मानिसबाट जे निस्किन्छ त्यही निरासाको बयान उनीबाट पनि आयो ।
२०७३ चैतमा प्रधानाध्यापकबाट राजीनामा गरेपछि सुरु भएको हो उनको पूर्णकालीन राजनीति । फुयालको राजनीति यात्रा निक्कै लामो छ । उनी २०४० सालमै विद्यार्थी संगठनमा सक्रिय भएका थिए भने २०४१ सालमा पिपल्स क्यम्पसमा स्वतन्त्र विध्यर्थी युनियनको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए । शिक्षक भएपछि पनि राजनीतिबाट प्रभावित थिए ।
‘म पार्टी संगठनमा भए पनि आफू सम्बद्ध संस्थालाई नोक्सानी हुने किसिमको केही गरिनँ,’ फुयालले विगतबारे सुनाए ।
व्यवस्थापनमा स्नातक गरेका फुयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुन् । तर, स्कुलमा सबै विषय पढाए । किनकि उनले पढाउन सुरु गरेको समयमा विषयगत शिक्षक पाउनु कसरी ?
‘भर्खर स्कुलहरु स्थापना भएकाले शिक्षक नै थिएनन् । कतिपय विषयमा आफू बेस्सरी घरमा पढेर आएर पनि पढाउँथे,’ फुयालले भर्खरै छाडेको पेशाबारे भने ।
‘नेता कुलोको पानीजस्तो होस्’
२०४९ सालबाट शिक्षण सुरु गरेका फुयाल २०६५ मा प्रधानाध्यापक बने – नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको । केही समय पर्खिएको भए फुयालले उमेर हदका कारण अवकाश पाउथे । तर, राजीनामा दिएर सोझै उनी राजनीतिमा होमिए ।
‘बौद्धिक समुदायले कुनै न कुनै रुपमा हस्तक्षेप गर्नैपर्छ । अरुलाई यस्तो भएन उस्तो भएन भन्ने आफू चाहिँ राजनीतिमा नआउने ? आवश्यकता पर्दा म त आउनु पर्छ भनेर फ्याट्ट आएँ । मजाले पेन्सन पकाएर आउने पनि होइन,’ उनले पेशा त्यागेर राजनीतिमा आउनुको राज खुलाए ।
आखिर राजनीतिमा नआइ हुन्न त ? नेतृत्व कस्तो हुनुपर्छ भन्ने बुझेका छन् त उनले ?
‘नेतृत्व झरनाको पानीजस्तो होइन, कुलोको पानीजस्तो हुनुपर्छ । मैलो भए पनि बगैंचामा सिंचाई गर्छ कुलोको पानीले । झरनाको पानी देख्दा क्या राम्रो भन्यो, करुवामा थापेर खान पनि नमिल्ने । क्या राम्रोमात्रै त हो नि त्यो,’ उनले भने ।
उनले चुनावमा सम्भावित हारजितको प्रसङ्ग पनि कोट्याए । हार्ने चुनावमा पनि नेता भाग्न नहुने मत छ फुयालको ।
नमागेरै दियो पार्टीले टिकट
काठमाडौंमा अंकगणितको राजनीतिले काम नगर्ने बुझाइमा रहेका फुयाल आफूले नमागेरै टिकट पाएको दाबी गर्छन् ।
‘म टिकट पाउँ भनेर माग्नै गइनँ । पार्टीले दिन पर्नेलाई त दिने रै’छ नि त,’ उनको भनाइ छ ।
‘आज खोजेको चिज नपाउँदा भोलि पाइन्छ नि त । पार्टीले फेरि कति दिइरहने के ? राज्यबाट पटक–पटक सुविधा लिएका पात्रहरुले त्यो खालको व्यवहार गर्नु ठीक होइन ।
जनप्रतिनिधिका लागि उनी पहिलोपटक चुनावमा होमिएका भने होइनन् । पाँच वर्ष वाग्मती प्रदेश सभामा एमालेका तर्फबाट सांसद बनेको अनुभव छ फुयालसँग । प्रदेशलाई केन्द्रले संघीय प्रणालीअनुसार सबै अधिकार नदिँदा धेरै काम गर्न नसकिएको अनुभव पनि छ उनीसँग ।
‘संघीय प्रणाली भएका देशमा रक्षा, गृहजस्ता क्षेत्र संघीय सरकारले लिने र अरु सबै प्रदेश र स्थानीय सरकारलाई दिने हुन्छ । त्यसो हुँदा अधिकतम अभ्यास हुन्थ्यो । तर, हाम्रोमा प्रदेशहरुलाई त्यस्तो खालको अधिकार पाएका छैनन्,’ उनले भने ।
२०७४ को प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मत पाएका थिए फुयालले काठमाडौं २ बाट । प्रदेशसभा निर्वाचनमा उनले विपक्षी भन्दा दोब्बर मत ल्याएका थिए । १६ हजार ५७५ मत फुयालको भागमा पर्दा कांग्रेसका मनहरि खड्काले ८ हजार २६८ मतमात्रै ल्याए । प्रतिनिधिसभामा एमालेबाट माधव नेपालको जित पनि सम्झन लायक थियो यही क्षेत्रबाट । नेपालले २७ हजार ३६६ मत नेपालले ल्याउँदा कांग्रेसका दीपक कुइकेलको मत १४ हजार ९०३ थियो ।
फुयालकै शब्दमा ओनसरी ‘शालिन र शिष्ट’ व्यक्ति हुन् । यद्यपि, उनको भेट ओनसरीसँग माओवादी केन्द्र र एमाले एक भएका बेलामा पनि हुन भने पाएन । प्रचण्डले ओनसरीलाई जिताए मन्त्री बनाउँछु भन्दै दिएको आश्वासनको चाहिँ प्रतिवाद गरे फुयालले ।
‘१५ महिना भयो त गठबन्धनले सरकार चलाएको । विकास हुन उहाँले जितेमात्रै हुने हो त ? मेरो प्रश्न,’ कडा रुपमा मणिरामले भने ।
ढुक्कले चुनाव जित्छु भन्न भने मन छैन फुयाललाई
पाँच वर्षअघिको प्रदेश सभाको माहोल प्रतिनिधिसभामा पनि दोहो¥याउने पक्षमा छन् फुयाल । पार्टी विभाजन र एमालेभित्रको किचलो त चुनौती छ नै । सत्ता गठबन्धन विपक्षमा उभिँदा पनि उनी ‘विस्वस्त’ छन् । तर, ढुक्कले चुनाव जित्छु भन्न भने मन छैन फुयाललाई ।
‘म जित्छु भन्दा कताकता घमण्ड गरेको जस्तो होला भनेर डराएको मात्रै हुँ । डराउनु त प¥यो । धक नमानिकन भन्ने हो भने मैले चुनाव हार्दिनँ । चुनाव जित्छु । म यसमा विस्वस्त छु । हिसाबकिताबको कुरा तपसिल हो,’ चुनावी जितहारबारे फुयालले सुनाए ।
काठमाडौंमा कुन पार्टीको जनमत कति छ भन्ने अंकगणित र गठबन्धनको जोडघटाउले काम नगर्ने बुझाइ छ उनीसँग ।
‘काठमाडौंको जनताले प्रत्येक पटक हिसाबका नयाँ नयाँ अध्याय खोलेका छन् । यसपाली नयाँ अध्याय खोल्छन् फेरि,’ फुयालको भनाइ छ ।
फुयालको नजरमा शालिन ओनसरी
यसपटक फुयालको मुख्य प्रतिस्पर्धी छिन् गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार ओनसरी घर्ती । पूर्व सभामुख समेत रहेकी घर्तीको प्रोफाइल पनि कम छैन ।
घर्तीलाई केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मत मागेका थिए । उक्त कार्यक्रममा घर्तीले जोरपाटी–साँखु सडक २ वर्षमा बनाउन नसके आफू सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन् । उक्त भनाइबारे मणिरामको कटु टिप्पणी छैन । बरु ओनसरीले पाएको सूचना नै गलत भएको बताए उनले ।
‘अब ३०० मिटर बाँकी छ । उहाँलाई कसले दियो त्यो सूचना । आफै त सूचित हुनुहुन्न होला । दिने मान्छेले राम्रो सूचना दिएन कि भन्ने लागेको छ मलाई,’ ओनसरीको कमजोरीप्रति कुटनीतिक सुनिए उनी ।
फुयालकै शब्दमा ओनसरी ‘शालिन र शिष्ट’ व्यक्ति हुन् । यद्यपि, उनको भेट ओनसरीसँग माओवादी केन्द्र र एमाले एक भएका बेलामा पनि हुन भने पाएन । प्रचण्डले ओनसरीलाई जिताए मन्त्री बनाउँछु भन्दै दिएको आश्वासनको चाहिँ प्रतिवाद गरे फुयालले ।
‘१५ महिना भयो त गठबन्धनले सरकार चलाएको । विकास हुन उहाँले जितेमात्रै हुने हो त ? मेरो प्रश्न,’ कडा रुपमा मणिरामले भने ।
अरु पार्टीका नेता कार्यकर्ताको पनि समर्थन
प्रदेशसभामा जितेर एक कार्यकाल सांसद भइसकेका फुयालले मत परिणामको विश्लेषण नगर्ने कुरै भएन । स्वतन्त्र मतलाई जितको आधार मानिरहेका उनी एमालेबाहेक पार्टीको मत समेत आफ्नै पक्षमा आउने दाबी गरिरहेका छन् । पार्टीको मतमा यसपटक खासै अन्तर नआउने बुझाइ छ उनको ।
‘पहिला अरु पार्टीलाई दिएका मतदाता त स्वतन्त्र छन् नि फेरि । स्वतन्त्र मतदाताले नै हो ’निर्णायक भुमिका खेल्ने’ । पार्टीगत भोट त अलिकति तलमाथि हुने कुरा न हो । निर्णायक भूमिका स्वतन्त्र मतदाताको हो । स्वतन्त्र मतदाताले मलाई भोट दिनेमा कुनै सन्देह छैन,’ फुयालको तर्क छ ।
‘राष्ट्रिय राजनीतिलाई दिशा दिने भूमिका खेल्छु’
प्रतिनिधिसभाका सांसद आफ्नो क्षेत्रको विकासमा मात्रै अल्झिनु ठीक नहुने बुझाइ छ फुयालको । सांसदले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने भूमिका खेल्नुपर्ने तर्क छ उनीसँग ।
गलत काम नगर्ने प्रतिवद्धता पनि सुनाए फुयालले, ‘कानुनले गलत भनेको काम कुनै हालतमा गर्दिनँ । मेरो ज्यान जावस् म गर्दिनँ । सार्वजिनक ओहोदामा बसेका मान्छेले गलत काम गर्दिएन भने मात्रै पनि देश बन्छ भन्ने लाग्छ मलाई ।’