पोखरा । राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीनवटा राष्ट्रिय कीर्तिमान बनाइन् ।
उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् । यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो ।
उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।
सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्लाले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् ।