काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउँदै ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिएका छन् ।
सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने वताउँदै प्रम देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् ।
नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोेत, साधनले सम्पन्न बनाउँदै वृत्ति विकासलाई समयानुकूल सुधार गर्दैन अघि बढ्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।
यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।
स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै प्रम देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउने आफू विश्वस्त रहेको बताए ।
प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन प्रहरीलाई आग्रह गरेका छन् । अपराधीले पनि नयाँ विज्ञानको प्रयोग गरिरएको वताउँदै उनले सुरक्षाकर्मीहरु चनाखो हुनुपर्ने बताए ।
बलिदान गर्ने नेपाल प्रहरीको परिवारको क्षमता अभिवृद्धि गर्नका लागि सरकार तत्पर रहेको उनले बताए ।
नेपाल प्रहरीका लागि पनौतीको प्रहरीको तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नेपालमा नै उपलब्ध गराउने गृहमन्त्री खाणले बताएका छन् ।
नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने क्रममा नेपाल सरकार र गृह मन्त्रालय सधैं अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल प्रहरीका महाननिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन नपाएको गुनासो गरेका छन् । उनले अहिले पनि धेरै प्रहरी कार्यालय भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको बताए ।
आम नागरिकले दिएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि कानुन मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको उनले बताए । ।
कुल ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत करिब २६ लाखभन्दा बढीसँग अभौतिकरुपमा जोडिएको बताए ।
आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता सङ्ख्यामा ७० प्रतिशतले वृद्धि भएको छ । यद्यपि, संगठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ । आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ ।
विभिन्न अपराधमा संलग्न नेपालमा लुकेर बसेका १७ जनालाई इन्टरपोलको नै सहयोगमा कानूनी दायरमा ल्याइ अपराध नियन्त्रणको लागि संसारको कुनै पनि लुके पनि प्रहरीले छोड्ने छैन भन्ने सन्देश दिएको छ ।


















