काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा आईतबार भएको दौडमा दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो । सोही स्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राई भए । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए । त्यस्तै एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । यस स्पर्धामा एपीएफकी भागीरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।
त्यस्तै एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् । फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मिकै विन्दु थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य जितिन् । श्रेष्ठले एक मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।