पोखरा । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुने भएको छ । उद्घाटनका लागि माछापुच्छ्रेको काखमा अवस्थित पोखरा रंगशालालाई दुलहीझैँ सिँगारिएको छ ।
नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुने भएको छ ।
उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आइपुग्नुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसकेका छन् । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुगेका छन् ।
यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।
प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।