वीरगन्ज । बारामा बुधबार एकै परिवारका तीनजनाको शव फेला परेको छ । उनीहरुको शव खोलाको किनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फालिएको अवस्थामा भेटिएको हो।
प्रस्टोका गाउँभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
तीनैजनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको हुनसक्ने प्रहरीले शंका गरेको छ । घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ ।
पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ । पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुन सक्ने आशंका छ ।






















