पाल्पा । पाल्पामा बाढी पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पूर्वी पाल्पाको निस्दी गाउँपालिका १ अर्मलामा बसोबास गर्दै आएका ३५ वर्षी टकबहादुर बराई मगरको निस्दी १ सार्खर्दी खोलाले बगाउँदा मृत्यु भएको हो ।
रामपुर नगरपालिका १ बाट निस्दीको अर्मला जाँदै गर्दा खोला तर्ने क्रममा सार्खदी खोलाले बगाउँदा उनी शुक्रबार बेपत्ता भएका थिए । उनको खोजविनका क्रममा शनिबार दिउँसो खोलाको किनारमा शव भेटिएको पाल्पा प्रहरीले जनाएको छ ।
यसैगरी रिव्दीकोट गाउँपालिका- ५ नयाँटोलाबाट ४ रानीठाटी जाने क्रममा बिहीबार ५ वर्षीय बालिका प्रिन्स पचभैयालाई मन्द्रिखोलाले बगाउँदा मृत्यु भएको छ । सँगै रहेका ३४ वर्षीया कविता पचभैया र ३२ वर्षीया मिना रानालाई खोलाले बगाउँदै गर्दा स्थानीयले उद्धार गरेका थिए । मृतक बालिका कविता पचभैयाकी छोरी हुन् । खोलाले बगाउँदा घाइते भएकी रानाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैगरी निस्दी गाउँपालिका ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिएका छन् । सोही गाउँपालिका वडा नं. ५ ढुङ्गानावेशी पाखरी खोलाको किनारामा एक व्यक्ति मृत अवस्थामा भेटिएको उनको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भारी वर्षाका कारण तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् ।
जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले सबै प्रहरी चौकी र स्थानीयवासीबाट बाढी पहिरोको क्षति संकलनको काम भइरहेको सम्पूर्ण क्षतिको विवरण आउन एक/ दुई दिन लाग्ने बताए ।