काठमाडौँ । ओपनर केएल राहुल र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले आइतबार राति दक्षिण अफ्रिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ रनको विजय हासिल गरेको छ । जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय २-० ले जितेको छ ।
गुवाहिटीस्थित बार्सपारा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
भारतका ओपनर राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रन बनाए । उनले कप्तान रोहित शर्मासँग पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । रोहित शर्माले ३७ बलमा ७ चौका र एक छक्कासहित ४३ रन बनाए ।
विराट कोहलीले २८ बलमा ७ चौका र एक छक्कासहित अविजित ४९ रन बनाए । सूर्यकुमार यदवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रन जोडे । दिनेश कार्तिकले अविजित १७ रन बनाए ।
दक्षिण अफ्रिकाका केशब महाराजले दुई विकेट लिए । २३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि डेविड मिलरले अविजित १०६ तथा ओपनर क्विन्टन डी ककले अविजित ६९ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । डी ककले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाएका थिए । मिलरले ४७ बलमा ८ चौका र ७ छक्कासहित अविजित १०६ रन बनाएका थिए । एडिन मारक्रमले ३३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका अर्षदीप सिंले दुई विकेट लिँदा अक्सर पटेलले एक विकेट लिए । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो । तेस्रो खेल अब मंगलबार इन्दोरमा खेल्नेछ । त्यसपछि भारतले दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।