काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । स्वदेश फर्किएपछि यू–१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताए । यू–१७ फुटवलको यो सफलता सुरुवात भएको भन्दै आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने उनले बताए । उनले प्रतियोगीताबाट धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् ।
भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।