काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत शुक्रबार तय भएका खेलहरु बर्षाले प्रभावित भएका छन् ।
वर्षाको कारण सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीचको खेल रद्द भएको हो । दुबै खेल टस समेत नभई रद्द भएको हो । आर्मी र कर्णालीबीचको खेल मुलपानी मैदानमा हुने तय थियो ।
यस्तै कीर्तिपुरको टियु मैदानमा सुदुरपश्चिम र बागमतीबीच खेल तय थियो । त्यस्तै एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन भएको छ । वर्षाले खेल रोकिनु अघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा झारिएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । वर्षकै कारण मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्द भएको छ ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।