काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने प्रयासका साथ मैदान उत्रने जनाएको छ ।
काठमाडौंमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टीमका कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताईन् ।
नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ । कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताईन । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताईन् ।
त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक थापाले बिगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताए । मुख्य प्रशिक्षक थापाले अहिले कुनैपनि टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा लिन नहुने बताए ।
त्यस्तै अन्य देशका टीम प्रशिक्षक तथा कप्तानहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधी जित्ने दावी गरेका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ मंगलबारबाट सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।