काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, मुख्य सचिव शंकरदास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला, रक्षा सचिव किरणराज शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव र विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । नेपाल-भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धका साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहि आएको छ ।
साथै, भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेले आज बिहान टुँडिखेलस्थित सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर जङ्गी अड्डामा सलामी ग्रहण गरेका थिए । साथै गारत निरीक्षण गरेका थिए । उक्त अवसरमा उनले जङ्गी अड्डा प्राङ्गणमा वृक्षारोपण समेत रेका छन् ।
तत्पश्चात, प्रधान सेनापति प्रभुराम शर्मा र जनरल मनोज पांडेबीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।
भेटघाट पश्चात जङ्गी अड्डामै आयोजित कार्यक्रममा, जनरल पांडेले नेपाली सेनालाई Nepal-India Bilateral Consultative Group on Security Issues (BCGSI) को Uniform method of Payment (60% grant and 40% payment) Modality अनुसार कुल रकम रु.२२,३८,३८,३१० (बाईस करोड अठतीस लाख अठतीस हजार तीन सय दश) बराबरकोMedical Equipments, Mine Protective Vehicles (MPVs)-१०, Horses (Stallions)-४,Maintenance and Spare Equipments लगायतका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
प्रधान सेनापति शर्माले भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेको सम्मानमा आज साँझ जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।