काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरि निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले नागरिकता लगाएतका बिषयमा एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै भ्रमहरुलाई चिर्दे बहुमत आउने गरि निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन ।
मधेश लगाएतका क्षेत्रमा नागरिकताका बिषयमा एमालेप्रति भ्रम सिर्जना गर्न खोजिएको र जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ती नरहेको उनले बताएका छन् ।
ओलीले मुलुकमा देखिएको आर्थिक लगाएतका समस्याहरुलाई समाधान गर्नका लागि एमाले सरकारमा आउनै पर्ने धारणा राखेका छन् । उनले अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुटने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रीत भएको आरोप लगाएका छन् । यसअघि एमाले सरकारले अघि सारेका राम्रा कार्यहरुलाई वर्तमान सरकारले रोक्ने काम गरेको भन्दै एमालेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने उनले बताए । मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि एमालेले उचित नीति बनाउनुपर्ने र आगामी निर्वाचनको घोषणापत्र पार्टीको मात्रै नभएर देशको भविष्य कोर्ने मार्गचित्र हुनुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले दराजमा थन्किएका एमालेका राम्रा नीतिहरुलाई कार्यान्वयन गर्न सवै नेता कार्यकर्ता गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरूद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको बताउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गरेका छन् । उनले कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउनु हुँदैन भनेका छन् ।
अध्यक्ष ओलीले नेकपा (एमाले)ले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ र समाधान गर्छ भन्दै त्यसैगरी नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको र माओवादीले तीनबर्षसम्म संसदीय समितिमा रोकेको बताए ।
बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ भने प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ ।
बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सचिवालय गठन गरेको छ । सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहेका छन् । सचिवालयमा आवश्यकतानुसार मनोनित गर्न सकिने निर्णय गरिएको छ । सचिवालयमा रहेका नेता कमरेडहरु यसप्रकार छन् –
संयोजक– केपी शर्मा ओली
सदस्य– ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय गरेको छ ।
प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रुपमा समग्र प्रचार कामको नेतृत्व गर्ने बताइएको छ ।