किभ । युक्रेनी रेलवे स्टेशनमा रुसले आक्रमण गर्दा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।
‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने ।
यसैबीच, युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ ।
सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दु हुँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् । (एजेन्सी)