काठमाडौं । तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।
संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको बताएका छन् । संघका अनुसार यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृति प्रदान गरेको छ ।
प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीहरु गरेर दुई हजार जनाको उपस्थिती रहने संघका सचिव जगन बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा आयोजक, स्वयंसेवक र प्राविधिक रुपमा करिब ३ सय जना सहभागी हुने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।