काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनौटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सवैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एमाले प्रचार बिभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।
एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने गुरुङले बताएका छन् । बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए । उनले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसंग गठबन्धन गर्न चाहनेलाई ढोका खुल्लै रहेको जिकिर गरेका छन् । बैठकले यसअघि सचिवालय बैठकहरुले गरेका निर्णयलाई अनुमोदन गरेको उनले बताएका छन् ।
त्यस्तै बैठकमा स्थानीय तह बिकास बिभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यबिधि अनुमोदनका बारेमा जानकारी गराइएको छ भने पार्टीको बार्षिक बजेट पारित गरिएको गुरुङले बताएका छन् ।
बैठकले बिभिन्न दल परित्याग गरि एमाले प्रवेश गरेका केही नेताहरुलाई एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिएको उनले जानकारी दिए । एमालेको पोलिट्व्युरो बैठक भाद्र ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ ।