काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । पछिल्लो १५ दिनमा दुईपटक मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले मूल्य घटाउन चासो नदिएको भन्दै अनेरास्ववियुले मूल्य घटाउन माग गरेको हो ।
‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२।५६ रुपैयाँ र डिजेलमा २९।१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन ।’ अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ – ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।’
‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त रहेको जनाउँदै अनेरास्ववियुले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गर्न गरेको हो ।
अनेरास्ववियु वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।