खोटाङ । आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएपनि केही घरहरु भने क्षति भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताएका छन् ।
साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेको र क्षतिसम्बन्धी जानकारी लिने काम भइरहेको प्रजिअ सेडाईले बताएका छन् ।
भूकम्पबाट साकेला गाउँपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर, डाडागाँउ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गङ्गा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ ।
कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताएका छन् ।