काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आशंका गरेका छन् । यस्तो आशंका गरेपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले हजयात्रामा पठाउने क्रममा अनियमितता भएको बताएका हुन् । सोही आधारमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देश गरेको हो ।
‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णयमा छ ।
यसैगरी, समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई भनेको छ ।