काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आव २०७९/०८० को मौद्रिक नीतिमा सेयर धितो कर्जामा केही खुकुलो नीति ल्याएको छ । आज सार्वजनिक मौद्रिक नीतिमा सेयर कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने व्यवस्था हटाउँदै अब प्रतिव्यक्तिले १२ करोडसम्म लिन सकिने सीमाको व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताएका छन् ।
उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए ।
मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिनसम्बन्धी व्यवस्था हटाइने गभर्नर अधिकारीले बताएका छन्।
२५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ। मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने व्यवस्था खारेज समेत गरिएको छ ।