पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एम अधिकारीका बारेमा सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल, गण्डकी प्रदेशको आज पोखरामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही भएपनि सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएकोले त्यसको प्रभाव धेरैतिर परेको बताएका छन् ।
उनले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको बताएका छन् ।
त्यस्तै महासचिव पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । गठबन्धनले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदाबाजी, राजनीतिक अस्थिरता, वैदेशिक चलखेललाई निम्ताएको छ । समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । अब मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यकता छैन ।’