काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज दिल्लीमा भेटवार्ता भएको छ ।
तीनदिने भारत भ्रमणमा रहेका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका अध्यक्ष जगतप्रकाश नड्डालगायतसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका प्रचण्ड आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भारत भ्रमण गरेको पत्रकारहरुलाई बताएका छन् । शनिबार भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए । उनले भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल-भारतबीचको सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने बताए ।