काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओले भेटवार्ता गरेका छन् ।
मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको बिकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
एमाले अध्यक्ष ओलीले आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध बताएका छन् । नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएको भट्टराईले जानकारी दिएका छन् ।
नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रुपमा गर्ने र चीनले पनि स्वतन्त्र रुपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रुपमा नै अघि बढ्ने बिषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिएका छन् ।
भेटमा एमालेको तर्फबट स्थायी कमिटी सदस्यहरु प्रदिप ज्ञवाली, विष्णु रिमाल, डा. राजन भट्टराई, विदेश विभाग सचिव डा.अन्जान शाक्य र सदस्यहरु कृष्ण केसी र उषाकिरण भण्डारी सहभागी भएका थिए ।
नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए । यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत व्यक्तिसँग भेटवार्ता गरिसकेका छन् ।
लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ ।