काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार काठमाडौंमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्रष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व भएको पनि बताए ।
प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने धारणा राखेका छन् । उनले पुरस्कृत प्रतिभाका माध्यमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताए ।
सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो।
मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ। ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गरे। जनही रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ।
भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’ (कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ। उनीहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ।
जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा. हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित भएका छन्।
यस्तै संस्कृति विधातर्फ ओखलढुङ्गाका डा. लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा. राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा. त्रैलोक्यनाथ जोशी पुरस्कृत भएका छन्।
ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी (महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुन मगर (डडेल्धुरा) लाई पुरस्कृत गरिएको छ। सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ, रामनारायण ठाकुर (जनकपुरधाम), नवीन पौडेल (काठमाडौं), केशरी घर्ती मगर (पोखरा), उन्नती बोहरा (रुपन्देही), उत्तम शर्मा (उत्तरगङ्गा) र अम्बरबहादुर लामा (डोटी) पुरस्कृत भएका छन्।
मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कविता/काव्य विधामा डा. बेञ्जु शर्मा काठमाडौँ, निबन्ध/समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना/नाटकतर्फ डा. पुष्करराज भट्ट कैलाली, बालसाहित्य/लोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरालाई पुरस्कृत गरिएको छ।
त्यस्तै, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुहुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा. गोविन्द नेपाली छन्। यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङका डा अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ। त्यसैगरी मन्त्रालयले यसैवर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ।