काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने घोषणा गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।
नेकपा विभाजन हुनुमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँगै गौतमको पनि भूमिका अध्यक्ष ओलीले बताउँदै आएका छन् ।
‘सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासका लागि गौतमले ओलीलाई भेटेको वामदेव निकट स्रोतले बताएको छ । गौतमले अन्य वामपन्थी नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेर पुनः एकता प्रयास गर्दै आएका थिए । नेकपा एकता अभियान चलाउँदै आएका गौतमले केही दिनअघि आफ्नै संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरेका थिए ।
राजनीतिमा स्थापित भएका कोही पनि नेता नभएको पार्टी घोषणा गरेका गौतमले आफूले शिलान्यास गरेको पार्टी उदघाटन गर्ने बेलामा नेपाल नै चकित हुने दावी गरेका छन् । लाखौं व्यक्तिहरू आफ्नो पार्टीमा गोलबन्द हुने गौतमको दावी छ ।