काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतको विरोधमा राप्रपाले देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले माग पूरा गर्ने छाँट नदेखाएपछि राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको बताइएको छ ।
किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस निकाल्ने बताइएको छ ।
त्यस्तै असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने, असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने, असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने बताइएको छ ।
त्यस्तै असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिइने बताइएको छ ।