काठमाडौं । झापाको बि एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका हुन ।
दुवै अस्प्तालले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको स्पष्ट गरेका छन् । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोड रुपैयाँभन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैयाँ लिन बाँकी रहेको जानकारी दिएका छन् । यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपनि अझै बिमा वापतको रकम नपाएको प्रसाईले बताएका छन् । बीएण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी दिन माग गरेका छन् ।
प्रसाईले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुलाई पनि बन्द गर्न सरकारले बाध्य बनाएको बताएका छन् । सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरेको पनि बताएका छन् ।
सरकारले २०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।