काठमाडौं । नेपाली कांग्रेसले अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट बञ्चित गर्न नहुने बताए । यस बिषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरेका छन् ।
विदेशमा लाखौँ नेपाली रहेको र उनीहरुले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारकबाट बञ्चित गर्न नहुने महामन्त्री शर्माले बताएका छन् ।
त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यस्थित गर्न ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् । मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए ।