काठमाडौं । पत्रकारिताबाट केही दिनअघि राजीनामा दिएर पूर्णकालिन राजनीतिमा लाग्ने घोषणा गरेका रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको बताउँदै आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक हुने दावी गरेका छन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।
स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्ने र क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताएका छन् । देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकोले पार्टी नै दर्ता गराउनुु परेको लामिछानेले बताएका छन् ।
राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न तयार भएको बताउँदै लामिछानेले राजनीतिको हिलो सफा गर्न जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने वताउँदै लामिछानेले पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने बताएका छन् ।
आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने बताएका छन् । लामिछानेले उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने घोषणा गर्दै सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताएका छन् । खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता पन जनाएका छन् ।