काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीको आशन्न अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आजको बैठकमा बोलाएको थियो । तर देउवा वैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीबाट समितिको अपमान भएको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितलाई लिएर समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिको अपमान गरेको बताएकी छिन् भने कांग्रेस सांसद पुष्पा भुसाल देउवाको प्रतिरक्षामा उभिएकी थिइन् ।
प्रधानमन्त्री वैठकमा अनुपस्थित हुनु र नआउने खबर समयमा नपठाउनुले पनि उनले समितिको अपमान गरेको सभापति खरेलले बताएकी छिन् । यदी प्रधानमन्त्रीले अनुपस्थित हुने जानकारी गराएको भए बैठक नै राखिने थिएन भनेकी छिन् ।
आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको सभापति खरेलले बताएकी छिन् ।
सभापतिले खरेलले प्रधानमन्त्रीको बारेमा प्रश्न उठाएपछि कांग्रेस सांसद भुसालले देउवाको प्रतिरक्षा गर्दै अहिले भ्रमण तय भइनसकेकाले नआएको बताउँदै भ्रमण तय भएपछि आउने जानकारी दिएको बताइन् ।
त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल पनि बैठक सुरु नहुँदै बाहिरिएका थिए ।
यसअघि समितिको शुक्रबारको वैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे छलफल भएको थियो ।
एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।