काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न चूनौती दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा पोखरेलले केही नेताहरुले एसपीपी एमाले सरकारले अघि बढाएको अभिव्यक्ति दिएको भन्दै प्रमाणित गर्न चूनौती दिएका हुन ।
पोखरेलले एमालेमाथि लगाइएको आक्षेपको निन्दा गर्दै एमाले सरकारले एसपीपी अघि बढाएको भेटिए जिम्मेवारी लिन तयार रहेको धारणा राखेका छन् । पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको नै रहेको ठोकुवा गरेका छन् ।
पोखरेलले तत्कालिन अवस्थामा नै एमाले सरकारले यसलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको समेत जानकारी दिएका छन् ।
ओली सरकारका पालामा एसपीपीको विषय उठ्दा परराष्ट्र सचिव, रक्षासचिव, गृहसचिव र नेपाली सेनाको प्रतिनिधित्व रहेको अध्ययन कार्यदल गठन गरिएको बताउँदै पोखरेलले अगाडि बढाउनु उचित नहुने निष्कर्ष निकालेको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रममा एसपीपी एमाले नेतृत्वको सरकारले अघि बढाएको दावी गरेका थिए ।