काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने उद्घोष गरेका छन् ।
भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काई अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री आलेले भने, “सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।”
उनले राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनर्निर्माण हुने जानकारी दिए ।
अरुभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ थुप्रै धार्मिक पर्यटकहरु भित्रिने हुँदा चाँडो निर्माण गर्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गरेका छन् । उनले भने, “चार धाममध्ये पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनर्निर्माण भए भक्तजन तथा पर्यटकहरु थप भित्रिनेछन् ।”
रु. ४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर आगामी दुई वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
फरक प्रसङ्गमा मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गरी छिट्टै तातो र चिसोपानीको व्यवस्था गरिने जानकारी दिए ।

























