चरिकोट । दोलखाको चरिकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चरिकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ को योद्धा गाडी रजिलुबाट चरिकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बर को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको थियो ।
गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए । मृतकको शव सोही अस्पतालमा राखिएको छ । (रासस)

























