काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको बुधबार पोस्टमार्टम गर्ने काम सकिएको थियो । आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौताले जानकारी दिए ।
उनका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने भएको हो । दुर्घटनामा चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो ।
शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।




















