जनकपुर । मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि अधिवेशन सुरु गर्न लागिएको बताइएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने छ । बैठकमा नवौँ अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मन्तव्य राख्ने कार्यसूची रहेको बताइएको छ ।
यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको पनि बताइएको छ ।
जेठ २२ गते आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने र असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ ।
नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो ।
























