बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न लाग्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गर्नु परेको बताइएको छ ।
२०६२÷६३ को जनआन्दोलनमा वीरेन्द्रको शालिक तोडफोड गरेपछि त्यहाँ वीरेन्द्रको शालिक हटाएर राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डासँगै वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेर शालिक हटाएपछि स्थिति तनावपूर्ण बनेको स्थानीयले बताएका छन् ।
स्थानीयले धम्बोजी चोक नजिकै रहेको सेतु विकको शालिक पनि तोडफोड गरेका छन् । ज्ञानेन्द्र चोकलाई जनआन्दोलनपछि सेतु विक चोक नाम राखिएको थियो । जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई राख्नुका साथै उनकै शालिक पनि राखिएको थियो ।
दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको बताइएको छ ।