काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनु अघि नै स्वतन्त्र उम्मेदवार बालेन्द्र (वालेन) साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सुझाव मागेको खुलासा भएको छ ।
स्रोतका अनुसार मतपरिणाम नआइ अर्थात गणना अन्तिम चरणमा पुगेका बेला जेठ १२ गते बालेन केही सहयोगीहरुसहित ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग भेट गर्ने बालेनको प्रस्तावअनुसार ओलीको सचिवालयले भेटको समय मिलाइदिएको थियो । भेटक्रममा केहीबेर सामुहिक र केही बेर दुईजनाबीच कुरा भएको बताइएको छ ।
बालेनले जित्ने लगभग निश्चित भएको समयमा भएको भेटका क्रममा अध्यक्ष ओलीले बालेनलाई मेयरका रुपमा अग्रिम बधाई दिँदै युवाहरु नेतृत्वमा आउँदा आफूलाई खुसी लागेको बताएका थिए ।
युवा मेयरको नेतृत्वमा काठमाडौंले विकास र समृद्धिको गति पक्रिने विश्वास लिँदै ओलीले बालेनलाई कार्यकाल सफल बनाउन पनि शुभेच्छा व्यक्त गरेका थिए ।
बालेनको चुनावी अभियानमा जोडिएका उनका एक सहयोगीले भेटमा राजनीतिक कुरा नभएको बताउँदै राजनीतिक अर्थ नलगाउन आग्रह गरेका छन् ।
देशको प्रमुख पार्टीको अध्यक्ष भएकाले शुभेच्छाका लागि बालेन बालकोट गएको उनका सहयोगीले बताएका छन् ।