काठमाडौं । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिशनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधान सेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जान लाग्नु भएको बताइएको छ ।
प्रधानसेनापति शर्माले आषाढ ०४ गतेदेखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।
प्रधान सेनापति शर्मा लगायतको भ्रमण टोलीले उक्त मिशनहरुको वस्तुस्थित, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिशनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुने बताइएको छ । यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्दग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिबृद्धि हुनुको साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
उक्त निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति शर्मा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा मिति २०७९ आषाढ १३ गतेदेखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नु हुने कार्यक्रम समेत रहेको बताइएको छ ।
उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।