काठमाडौं । सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको जनाइएको छ ।
आयोगका अन्य सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् । यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको पर्यटन मन्नत्रालयले जनाएको छ ।
आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो दुर्घटनामा विमानमा रहेका सबैजनाको मृत्यु भएको थियो ।





















