विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने बताए ।
मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गरेका छन् । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल्लेख गर्दै उनले भने, “प्रदेश सरकार अनावश्यक खर्च कटौती गरिरहेको छ ।”
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन जनताको रुचि एवं चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे । उनले विगतमा सिद्धान्त र प्राथमिकताका आधारमा ल्याइएका योजना अहिले ठप्प रहेको टिप्पणी गर्दै लोकतन्त्र जनताको सेवा र विकासबाट मात्र अडिन सक्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यमाराज राईले कसैको पनि स्वेच्छाचारी स्वीकार्य नहुने भन्दै दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले प्रदेशको नामाकरण यसै अधिवेशनबाट टुङ्गो लगाउन माग गरे । नेकपा (माओवादी केन्द्र)का धीरेन्द्र शर्माले सरकारको दीर्घकालीन महत्व राख्ने योजना बजेटमा राख्नुपर्ने सुझाव दिए ।
जनता समाजवादी पार्टी नेपालका रामचन्द्र लिम्बूले सरकारले किसानलाई चाहिने रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्ने माग गर्दै किसानको उपजको उचित मूल्य र बजारको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने बताए । राप्रपाका इन्दिरा राईले खाद्यान्नमा आत्मनिर्भर गर्न किसानको हितमा काम गर्नुपर्ने भन्दै सरकारले रोजगार सिर्जना गर्न र रासायनिक मलको व्यवस्थामा ध्यान दिन माग गरे ।
सदनमा विचार राख्ने सबै दलका नेताले तारा एयरलाइन्स दुर्घटनामा दिवङ्गत परिवारप्रति समवेदना व्यक्त गर्दै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिए ।




















